
झापा । झापाबाट मंगलबार बिहान हतियारसहित १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट ‘एयर पेस्तोल’ र ‘मेटल बुलेट’ बरामद भएको छ ।
मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार कार्यालय परिसरबाट भारत सिलिगुडीका २५ वर्षीय प्रतीक अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले अग्रवाललाई बिहान ८ः५० बजेतिर पक्राउ गरेको हो ।
सुरक्षाकर्मीको संयुक्त टोलीले सवारीसाधन तथा यात्रु चेकजाँच गर्ने क्रममा डब्लुबी ७४ एजे ०४०० नम्बरको स्कुटर रोकेको थियो । भारतीय नम्बर प्लेटको स्कुटर चेकजाँच गर्ने क्रममा डिकीभित्र लुकाएर राखिएको अवस्थामा अवैध हतियार ‘एयर पेस्तोल’ र अग्रवालले बोकेको झोलाभित्र पेस्तोलमा प्रयोग हुने १८ थान ‘मेटल बुलेट’ बरामद भएको प्रहरीले जनाएको छ ।
अग्रवाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनले उक्त हतियार कहाँसम्म लैजान खोजेका थिए भन्ने यकिन हुन बाँकी छ ।

























