विराटनगरबाट ठूलो परिमाणमा ब्राउन सुगर बरामद

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २९, आइतबार ११:३३

विराटनगर । विराटनगरबाट ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको छ । २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये १ जना भारतीय नागरिक हुन् ।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले शनिबार साँझ ६ बजेतिर विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट ब्राउन सुगर बरामद गरेको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार ब्राउन सुगरसहित विराटनगर–१२ का २३ वर्षीया रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादवलाई पक्राउ गरिएको छ ।

सडकको ‘साइड’मा रोकेर राखिएको को ३० प ४१० नम्बरको मोटरसाइकलमा अडेस लागेर गफ गरिरहेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । त्यस क्रममा महतोको साथबाट १ सय ७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपी चुँडालले बताइन् ।

प्रहरीका अनुसार भारतीय नागरिक यादवले जोगवनीबाट ल्याएर ब्राउन सुगर महतोलाई दिएको हुनसक्ने आशंका छ । यद्यपि, विस्तृत अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने डीएसपी चुँडालको भनाइ छ ।

बरामद भएको ब्राउन सुगर र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.