
विराटनगर । सुनसरीमा गोली प्रहार गरी किशाेरीको हत्या गरिएकाे छ । हरिनगर गाउँपालिका– ६ घुस्कीमा सोमबार बिहानको राति करिब १ गोली हानी १८ वर्षीय किशोरीको हत्या भएको हो ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार अन्दाजी १८ वर्षीय अर्सी खातुनको गाेली हानी हत्या भएको हो ।
उनका अनुसार अनुसार किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेका हुन् । भारतको पुर्णिया जिल्ला पत्राहा पञ्चायत– १६ घुर्नाका २९ वर्षीय आजात मिया जटले गोली प्रहार गरी हत्या गरेको देखिएको उनले बताए । घटनापछि मिया फरार छन् । फरार मियाको खोजी भइरहेको उनले बताए ।
उनका अनुसार बिहान करिब १ बजे घरमा किशोरीकाे टाउकाेमा १ गाेली प्रहार भएकाे थियाे । घटनास्थलमा एउटा खोका पनि फेला परेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा कटुवा पेस्तोल प्रहार गरेको जस्तो देखिएको उनले बताए ।
घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।

























