
विराटनगर । भारतदेखि ल्याइएको विभिन्न प्रकारका अवैध औषधिसहित विराटनगरबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१६ का २६ वर्षीय सिकन्दर यादव पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनलाई विराटनगर महानगरपालिका–१६ दरैयाबाट मंगलबार बिहानका राति ४ः४० बजेतिर पक्राउ गरेको हो ।
भन्सार छली गरेर बीआर ३८ एच २२२७ नम्बरको भारतीय मोटरसाइकलमा ल्याइएको औषधि प्रहरीले बरामद गरेको छ । ओमेगाटाइम क्याप्सुल ४ काटुन (२ सय ३० बट्टा), प्रोकल डी ट्याब्लेट ४७ बट्टा र ट्रकमाकल एम ट्याब्लेट ७ सय ९२ बट्टा बरामद गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
उनका अनुसार सबैमा प्रतिबट्टा ३० वटा ट्याब्लेट छन् । ७ लाख ९० हजार ३ सय रूपैयाँ बराबरको औषधि बरामद भएको चुँडालले बताइन् । अवैध औषधि र मोटरसाइकलसहित पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
उनलाई विराटनगर भन्सार कार्यालय बुझाउने प्रहरीको तयारी छ । प्रहरीलाई देख्नसाथ औषधि फालेर यादव फरार भएका थिए । भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । यस विषयमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

























