तरकारीको गाडीमा गाँजा तस्करी : उदयपुरबाट ४ सय ३६ किलो बरामद, बोलेरो चालक पक्राउ

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३१, मंगलबार १३:३६

विराटनगर । उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्धिचरण लोकमार्गबाट प्रहरीले गाँजा बरामद गरेको छ ।

प्रहरीका अनुसार तरकारी बोकेको बोलेरो गाडीबाट सोमबार साँझ गाँजा बरामद भएको हो । सिरहाको मिर्चैयातर्फ गइरहेको को १ ज १२७५ नम्बरको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलले बताए ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बोलेरो गाडीलाई शंका लागेर चेकजाँच गरेको थियो । त्यस क्रममा तरकारीको बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको जानकारी पोखरेलले दिए । गाडीमा १२ वटा बोरामा गाँजा लुकाइएको प्रहरीले जनाएको छ।

गाँजा बरामद भएसँगै बोलेरो चालक नकुटा जिल्ला सहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय तेज राई पक्राउ परेका छन् । उनलाई कटारीस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको गाँजा मिर्चैया हुँदै भारतीय सीमातर्फ ओसार्ने तयारी थियो । पछिल्लो समय तरकारी तथा फलफूल ओसार्ने गाडीमा गाँजा भेटिने क्रम बढेको छ ।

यस घटनाले पहाडी भेगमा अवैध गाँजा खेती र तस्करी गर्ने गिरोह अझै सक्रिय रहेको पुष्टि हुन्छ । प्रहरीले गाँजा तस्करीमा संलग्न सम्भावित अन्य व्यक्ति तथा समूहको खोजी जारी राखिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.