
रंगेली । मोरङको रंगेली नगरपालिका–४ स्थित आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित २ जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको दमकका अन्दाजी ३५ वर्षीय शिवकुमार सोरेन र सुनसरी इटहरीका ३३ वर्षीय आकाश खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको गस्ती टोलीले को २५ प ८१३८ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई शंकास्पद अवस्थामा देखिएपछि बुधबार रोकेर चेकजाँच गरेको थियो ।
उनीहरू कर्सिया क्षेत्रबाट रंगेलीतर्फ आउँदै थिए । चेकजाँचका क्रममा उनीहरूकै साथबाट प्रहरीले नाइट्राजेपाम नामक लागुऔषध १६ पत्ता (जम्मा १५५ ट्याब्लेट) बरामद गरेको छ।
प्रहरीका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । लाागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले पछिल्लो समय पूर्वी तराईका सीमावर्ती जिल्लाहरू झापा, मोरङ र सुनसरीमा लागुऔषधको ओसारपसार र कारोबारमा युवा पुस्ता बढी संलग्न हुन थालेको जनाएको छ । प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाइएको जनाएको छ।

























