
विराटनगर । सुनसरीबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित २ जनालाई पक्राउ गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका–२ का ३२ वर्षीय दिनेशकुमार यादव र सप्तरीको तिलाडी–कोइलारी गाउँपालिका–८ का २४ वर्षीय रञ्जितकुमार यादव पक्राउ परेका हुन् । उनीहरुलाई शुक्रबार साँझ कोशी गाउँपालिका–१ लौकहीबाट पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
उनका अनुसार लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले शंका लागेर दुवै जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएर खानतलासी गर्दा दिनेशकुमार यादवको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ ३६ ग्राम बरामद भएको जानकारी डीएसपी खतिवडाले दिए ।
उनका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























