
विराटनगर । सुनसरीमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । देवानगञ्ज गाउँपालिका–२ मा घरायसी जग्गा विवाद उग्र हुँदै जाँदा छोराले छुरा प्रहार गरेर बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छोरा मोहम्मद रियाज अन्सारीले छुराले शरीरका विभिन्न भागमा प्रहार गर्दा बाबु ६० वर्षीय सचिव अन्सारीको मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । उनका अनुसार बाबुको हत्यामा संलग्न छोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।
छोराले बाबुलाई बुधबार बिहान छाती र ढाडमा छुरा प्रहार गरेका थिए । जग्गा सम्बन्धी घरेलु विवाद उत्कर्षमा पुगेपछि मोहम्मदले आक्रोशमा आएर बुवामाथि धारिलो हतियार प्रहार गरेको एसपी तिम्सिना बताउँछन् ।
छोराको छुरा प्रहारबाट गम्भीर घाइते भएका सचिवलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको भएको प्रहरीको भनाइ छ ।
बाबुको हत्यामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रारम्भिक अनुसन्धानमा घरायसी विवादकै कारण घटना भएको देखिए पनि प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ ।
स्थानीयका अनुसार मृतक सचिव अन्सारी गाउँमा शान्त स्वभावका व्यक्ति मानिन्थे। तर, परिवारभित्र सम्पत्ति बाँडफाँटका विषयमा लामो समयदेखि विवाद रहँदै आएको र सोही विवादले हिंसात्मक मोड लिएको हुनसक्ने स्थानीयको अनुमान छ।

























