
विराटनगर । मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट शनिबार बिहान फरार भएका लागुऔषध मुद्दाका थुनुवा झापादेखि पक्राउ परेका छन् ।
झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बू उपचारका क्रममा मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट भागेका थिए । फरार भएको १२ घण्टा पनि बित्न नपाउँदै उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार अचानक पेट दुखेर बिरामी परेपछि लिम्बूलाई शुक्रबार राति ११ः३० बजेतिर अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार बिहानका राति ३ः१५ बजेतिर अस्पतालको झ्यालबाट हामफालेर उनी फरार भएको उनले बताए ।
अस्पतालबाट भागेका लिम्बूलाई झापाको झापा गाउँपालिका–५ मेचे टोलबाट पक्राउ गरिएको जानकारी चिमरियाले दिए । उनका अनुसार लिम्बू फरार भएपछि झापा प्रहरीसँग समन्वय गरेर खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट टोली परिचालन गरिएको थियो ।
टेम्पो चढेर भारततिर भाग्न खोज्दै गर्दा दिउँसो २ः३० बजेतिर पक्राउ गरिएको जानकारी उनले दिए । ‘भागेको लगभग ११ घण्टामा पक्राउ गर्न सफल भएका छौं । तत्काल फेला पार्न नसकिएको भारततिर भाग्ने योजना रहेछ,’ उनले भने । लिम्बूलाई साउन २१ गते बुधबार पक्राउ गरेर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको थियो ।
लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको थियो । अनुसन्धानको प्रारम्भिक चरणमै उपचाररत अस्पतालबाट फरार भएका लिम्बू १२ घण्टा नबित्दै पक्राउ परेका हुन् ।
घटना अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका–९ का २५ वर्षीय हरिभक्त दर्जी र मिक्लाजुङ–८ का २० वर्षीय निश्चल पोर्तेल साउन १६ गते लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका थिए । अनुसन्धानका क्रममा उनीहरुले उक्त ब्राउन सुगर नगिन लिम्बूबाट खरिद गरेर ल्याएको बताए । उनीहरुलाई लागुऔषध बेचेको पत्ता लागेपछि प्रहरीले लिम्बूलाई पनि पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको हो ।

























