प्रहरीकै ‘सेटिङ’मा पूर्वी मोरङका खोलाबाट ढुंगा, गिट्टी र बालुवाको अवैध ओसारपसार

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण २२, बिहीबार १३:४१

पथरी । पूर्वी मोरङका खोलाबाट प्रहरीकै ‘सेटिङ’मा ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन एवं ओसारपसार भइरहेको पाइएको छ ।

यतिबेला कुनै पनि खोला ठेक्का लगाइएको छैन । तर, प्रहरीसँगको मिलेमतोमा व्यापक रूपमा ढुंगा, गिट्टी र बालुवा चोरी हुने क्रम बढेको छ । प्रहरीलाई मिलाएर पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र लेटाङ क्षेत्रका विभिन्न खोलाबाट नदीजन्य पदार्थ चोरी भइरहेको स्थानीय बताउँछन् ।

Advertisement

प्रहरीकै ‘सेटिङ’मा सवारीसाधन दिनदहाडै खोलामा पस्ने गरेको र त्यसको बदलामा प्रहरीद्वारा नियमित रकम असुली भइरहेको स्थानीयको आरोप छ । पछिल्लो समय नदीजन्य पदार्थको बढ्दो अवैध ओसारपसारले पनि स्थानीयको आरोपलाई बल पुर्याएको छ ।

लेटाङ क्षेत्रको मोरङ्गी खोलाबाट चोरी गरी बालुवा र गिट्टी भरेर ल्याइएका ट्याक्टरहरु रातको १२–१ बजेको समयमा इलाका प्रहरी कार्यालय पथरीको गेटअगाडि भएर निर्बाध तवरमा हिँड्छन् । तर, प्रहरीले रोक्ने र चेकजाँच गर्ने काम गर्दैन । ती गाडीहरूबाट प्रहरीले ‘चेकिङ’को नाममा प्रति ट्र्याक्टर ५ सयदेखि १ हजारसम्म रकम असुल्ने गरेको चालकहरु बताउँछन् ।

१ जना चालकले भने, ‘बाटोभरि प्रहरीका चेकपोष्ट छन् । हरेक ठाउँमा ५–५ सय बुझाउनु पर्छ । नत्र खोला पस्न दिँदैनन् ।’ उनका अनुसार प्रहरीलाई पैसा बुझाउने काम ‘घुमुवा’ प्रहरीले नै सम्हाल्छन् ।

स्थानीयका अनुसार पथरीशनिश्चरे–१० को डाँस खोला, कानेपोखरी र बेलबारी सिमानाको चिसाङ खोला तथा लेटाङको मोरङ्गी खोलामा दैनिक रूपमा अवैध उत्खनन हुँदै आएको छ । खोलामा ट्याक्टर, टिपरजस्ता सवारी साधन खुलेआम पसेर गिट्टी–बालुवा बोक्छन् ।

प्रहरीसँग ‘सेटिङ’ भएकाले यो कार्यलाई कसैले रोक्न सक्दैन । कतिपय अवस्थामा त स्थानीयले प्रहरीलाई सूचना दिएपछि उल्टै ठेकेदार वा संलग्न व्यक्तिहरूबाट फोन आउने र ‘चिया–नास्ता’को प्रस्तावसमेत आउने गरेको बताइन्छ ।

खोला ठेक्का प्रक्रिया बन्द भएको समयमा यसरी हुने चोरीले बजारमा बालुवा–गिट्टीको मूल्य आकाशिएको छ । सामान्यतया २ हजार ५ सय रुपैयाँमा पाइने बालुवा अहिले ३ हजार ५ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको ट्याक्टर चालकहरू बताउँछन् ।

‘हामीले प्रहरीलाई बुझाउने रकम समेत ग्राहकबाट उठाउनु पर्ने भएकाले बालुवा महँगोमा दिनुपर्ने बाध्यता छ,’ एक व्यवसायीले भने । उनका अनुसार पैसा बुझाएकै कारण प्रहरीले खोलाबाट चोरेर ल्याइएको बालुवा समेत ‘स्टोकको हो’ भनेर छाडिदिने गरेको छ ।

प्रहरी ‘सेटिङ’कै कारण दैनिक दर्जनौँ ट्र्याक्टर खोला पस्न पाउने गरेको स्थानीयको भनाइ छ । खोला छेउछाउका बासिन्दाले ढुंगा, बालुवा र गिट्टीजस्ता नदीजन्य पदार्थमा प्रहरीको संलग्नता स्पष्ट देखिएको बताए । १ जना स्थानीयले भने, ‘२ दिनजति रोक्ने नाटक गर्छन् । फेरि ‘सेटिङ’ मिल्यो भने दिनभर ट्र्याक्टर चल्छन् । खोलालाईनै लुट्ने माध्यम बनाइएको छ ।’

पछिल्लो समय खोलामा उत्खनन बन्द गरिएको छ । खोला ठेक्का लागेको छैन । तर, ढुंगा, गिट्टी र बालुवाले भरिएका ढुवानीका साधनको आवतजावतको दृश्य रमितलाग्दो देखिन्छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख, डीएसपी तुलसीराम अर्यालले आफूले केही दिनअघि मात्रै कार्यभार सम्हालेको र यसबीचमा प्रहरीको संलग्नतामा कुनै गैरकानुनी गतिविधि नभएको दाबी गरे । ‘म आएयता प्रहरीबाट यस्ता कार्य भएको छैन । खोलाबाट चोरी भएको भन्ने कुरा गलत हो । यदि कोही संलग्न देखिए कडा कारबाही गरिनेछ,’ उनले भने ।

तर, स्थानीय, ट्र्याक्टर चालक र निर्माण व्यवसायीको भनाइसँग प्रहरी प्रमुखको दाबी मेल खाँदैन । धेरैजसोले खोलाबाट चोरी हुने ढुंगा–बालुवा सिधै प्रहरीकै मिलेमतोमा भइरहेको प्रमाणसहित बताएका छन् ।

नाम नखुलाउने सर्तमा १ चालकले भने, ‘हामी खोलाबाट बालुवा ल्याउँछौं, कुनै बेला प्रहरीले रोक्छ, कुनै बेला रकम माग्छ । सबै कुरा ‘सेटिङ’मा चल्छ । खोला ठेक्का छैन भन्ने थाहा भएरै पनि चोरी भइरहेको छ ।’ चोरीमा प्रहरी र स्थानीय सरकारले भरपुर सहयोग गरिरहेको उनको दाबी छ ।

प्रहरीका घुमुवा र इन्चार्जले दैनिक रूपमा कमाइ गर्ने स्रोतको रूपमा खोलाको प्रयोग गरिरहेको भन्दै स्थानीयहरूले प्रहरी संगठनभित्रै अनुशासनात्मक छानबिनको माग गरेका छन् । पछिल्लो समय पूर्वी मोरङका खोलाबाट हुने अवैध उत्खननले वातावरणीय सन्तुलनमा समेत असर पार्दै गएको छ ।

खोलामा अवैध रूपमा पस्ने ढुवानीका साधनले त्यहाँको प्राकृतिक स्वरूप बिगार्दै लगेको छ । साथै, ठेक्का नदिइएका खोला तथा आसपासमा दिनदहाडै दोहान गर्नु र स्थानीय प्रशासन एवं प्रहरीको मौनता सँगसँगै चल्नुले कानुनको शुन्यता झल्किएको छ ।

यसरी खोलाको चोरी व्यापारमा प्रहरी आफैँ संलग्न देखिनु अत्यन्तै गम्भीर विषय बनेको सरोकारवाला बताउँछन् । यसलाई रोक्न जनदबाब सिर्जना गर्नुपर्ने र कानुन कार्यान्वयन गर्ने निकायलाई घचघच्याउनुपर्ने उनीहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.