
विराटनगर । जेनजी आन्दोलनको नाममा अराजक समूहले भदौ २४ गते आगजनी गर्दा कोशी प्रदेशको हुलाक निर्देशनालय विराटनगरको सबै सामग्री खरानी भएको छ ।
कार्यालयमा धुवाँले कालो भएको भौतिक संरचनाबाहेक प्रयोग गर्न मिल्ने केही बाँकी छैन । हुलाकमा देश तथा विदेशबाट नागरिकले पार्सल र चिट्ठी पठाएका थिए । तर, ती सबै जलेर खरानीमा परिणत भएका छन् ।

‘हाम्रो कार्यालयमा केही बाँकी छैन । सबै जले । नजलेका सामग्री लुटपाट र चोरी गरेर लगेछन्,’ हुलाक निर्देशनालय विराटनगरका निमित्त प्रमुख विष्णुबहादुर बुढाथोकीले भने, ‘हुलाकले कसैको केही बिगारेको थिएन । तर, आन्दोलनमा आक्रमणको तारो बन्यो । अहिले केही बचेन ।’ उक्त हुलाक कार्यालय जिल्ला प्रशासन कार्यालय मोरङकै अगाडि छ ।
आन्दोलनका नाममा अराजक समूहले आगजनी गरेर प्रशासनसमेत ध्वस्त बनाइदिएको छ । घटनापछि सहयोग र सरसफाइ गर्न भनेर प्रशासनमा विभिन्न समूह पुगिरहेका छन् । तर, हुलाकतिर भने कसैको नजर पुगेको छैन । कसैले फर्किएर हेरेका छैनन् ।
आगजनीले खण्डहर भएको कार्यालयको सरसफाइमा सहयोग गर्न र सहानुभूति दिनका लागि अहिलेसम्म कोही नपुगेका हुन् । कार्यालय सञ्चालनमा ल्याउनका लागि हुलाकका कर्मचारी आफैं सरसफाइमा जुटेका छन् । ‘कार्यालयकै कर्मचारीले हुलाक कार्यालय सफा गर्दैैछौं । अब हामीसँग धुवाँले कालो भएको भवनभन्दा अरु केही बाँकी छैन,’ बुढाथोकीले भने ।

पछिल्लो समय राज्यको प्राथमिकतामा नपरे पनि हुलाक कार्यालय चिट्ठी पत्र र पार्सल पठाउनका लागि प्रयोग हुन्छ । पत्रपत्रिकाको कामदेखि सरकारी चिट्ठी पत्र आदानप्रदान हुलाकबाटै हुन्छ । व्यक्तिले कतिपय महत्वपूर्ण सामान पठाउन पनि हुलाकको प्रयोग गर्छन् ।
आगोले विदेशबाट आएका करिब १ सय ५० वटा पार्सल जलेर नष्ट भएको बुढाथोकीले बताए । उनका अनुसार पार्सलमा मोबाइल, कपडालगायतका सामग्री थिए । आगजनीपछि हुलाक कार्यालयमा भएको गाडी र निजी मोटरसाइकल जलेका छन् ।

कम्युटर, प्रिन्टर, ल्यापटप, चिट्ठी पत्र राख्ने दराज पनि जलेको बुढाथोकीको भनाइ छ । ‘दसैँअघि कार्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन । हामीसँग एउटा कम्युटर पनि छैन,’ उनले भने, ‘काम सुरु गर्नका लागि झापा र सुनसरीबाट १–१ वटा डेक्सटप मगाएका छौं ।’
उनका अनुसार अहिले टिकट बिक्री मात्रै भइरहेको छ । टिकट बिक्रीबाहेक अरु सबै सेवा ठप्प रहेको बुढाथोकी बताउँछन् । विराटनगरस्थितत निर्देशनालय कोशी प्रदेशकै ठूलो हुलाक कार्यालय हो ।
यसले जिल्लादेखि लिएर विभिन्न हुलाक कार्यालयको अनुगमन, निरीक्षण, सहजीकरणसमेतका काम गर्छ । तर, यही कार्यालयको भवनसहित सबै सामग्री जलेर ध्वस्त भएका छन् । आगजनीले १ करोड २५ लाख बराबरको क्षति भएको जानकारी निमित्त प्रमुख बुढाथोकीले दिए ।

उनका अनुसार विराटनगरको हुलाक निर्देशनालयसहित आगजनी गरेर मोरङको उर्लाबारी र जहदाको हुलाक कार्यालय ध्वस्त पारिएको छ । आगजनीपछि कार्यालयका सबै सामान जलेका छन् । कानेपोखरीको हुलाक कार्यालयमा भने तोडफोड गरेर क्षति पुर्याइएको बुढाथोकीले बताए ।
प्रत्यक्षदर्शीका अनुसार विराटनगरको हुलाक निर्देशनालयमा अराजक समूहले ३ पटकसम्म फर्किएर आउँदै आगजनी गरेको थियो । आगजनीसँगै तोडफोड गरेर लुटपाट मच्चाइएको स्थानीय बताउँछन् । ‘आगो दन्किरहेको हुलाकको भवनमा राति ११ बजेसम्म लुटपाट र चोरी गरियो । आगो त २ दिनसम्म निभेकै थिएन,’ एक स्थानीय भन्छन् ।


























