कुलमान घिसिङ लावालस्करसहित बाढीपहिरो प्रभावित इलाममा पुग्दा प्रदेश सरकारलाई बेवास्ता

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन २६, आइतबार १५:३३

विराटनगर । गत असोज १८ गतेपछि भीषण बाढी र पहिरोका कारण क्षतविक्षत बनेको इलाम जिल्लाको वस्तुस्थिति बुझ्न भौतिक पूर्वाधार विकासमन्त्री कुलमान घिसिङ लावालस्करसहित शनिबार इलाम पुगे ।

उनको भ्रमणमा भौतिक पूर्वाधार सचिव, गृहसचिव र नेपाल प्रहरी प्रमुखसहितको टोली सहभागी थियो । तर, प्रदेश सरकारका प्रतिनिधि थिएनन् । संघीय सरकारका मन्त्री बाढीपहिरो प्रभावित इलाम पुग्दा प्रदेश सरकारलाई भने पूरै बेवास्ता गरिएको छ ।

प्रदेश सरकारलाई थाहै नदिइकन संघीय सरकारका तर्फबाट घिसिङले गरेको स्थलगत निरीक्षण एवं बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन विवादरहित भने बन्न सकेन । पहिलो कुरा त उनले प्रदेश सरकारलाई यसको जानकारी नै दिइएनन् ।

अर्को कुरा निरीक्षणमा जाँदा सरकारी गाडीको ताँती लगाएर लावालस्करसहित पुगेको भनेर उनको आलोचना भयो । जेनजी आन्दोलनपछि बनेको सरकार मितव्ययी हुनुपर्नेमा ठूलो सरकारी खर्च गरेर बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा पुगेको भन्दै विरोध भएको हो ।

‘मन्त्री कुलमान घिसिङ २० वटाभन्दा बढी सरकारी गाडीको लावालस्कर लगाएर आए । विपद् प्रभावित क्षेत्रको अनुगमन ‘साउथ इन्डियन’ शैलीमा भयो । निरीक्षणमा आउँदा यत्रो गाडी किन चाहियो ? बरु प्रत्येक गाडीमा ४–४ बोरा चामल नै ल्याएर पीडितलाई बाँडेको भए पनि हुन्थ्यो । राहत लिएर आएको भए हुन्थ्यो । अहिलेको परिप्रेक्ष्यमा यत्रो ‘सेक्युरिटी’ किन चाहियो ? उनलाई के को ‘थ्रेट’ थियो ? तडकभडक ठूलो भयो । यो आवश्यक थिएन,’ स्थानीयले सार्वजनिक रूपमै भने ।

कोशी प्रदेश सरकारले संघीय मन्त्रीको भ्रमणबारे औपचारिक जानकारीसमेत नपाएको गुनासो गरेको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले संघीय मन्त्री आएको विषय सामाजिक सञ्जालमा देखेपछि मात्रै थाहा पाएको बताए । ‘मन्त्रीज्यू आउनु भएको कुरा सामाजिक सञ्जालमा देखेपछि मात्रै थाहा भयो । प्रदेश सरकारलाई कुनै औपचारिक जानकारी थिएन,’ उनी भन्छन् ।

विगतमा संघीय मन्त्रीहरू कुनै कार्यक्रम वा निरीक्षणमा आउँदा प्रदेशका मन्त्रीहरूको उपस्थिति अनिवार्यजस्तै हुने गरेको थियो । संघीय मन्त्री आउँदा प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म पुग्ने गरेका थिए । तर, जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारका मन्त्रीहरूले प्रदेश तहसँग समन्वय गर्न बेवास्ता गरेको देखियो ।

प्रदेशलाई संघीय सरकारको बेवास्ताले गर्दा बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्निर्माणमा समस्या हुने देखिएको छ । सर्वसाधारण विपद्को मारमा पर्दा मुलुकका सरकारबीच आवश्यक समन्वय नभइरहेको पनि यसले प्रष्ट पारेको छ ।

इलाम जिल्लाकै बासिन्दा तथा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरसमेत मन्त्री घिसिङको भ्रमणमा अनुपस्थित रहे । मगर बाढीपहिरोपछि सबैभन्दा बढी खटिएका प्रदेशका मन्त्री हुन् ।

उनले पनि संघीय मन्त्री आएकोबारे औपचारिक जानकारी नपाएको बताए । बाढीपहिरो प्रभावित क्षेत्रको राहत र उद्धारमा सक्रिय रहेका मगरसमेत यस भ्रमणमा सहभागी हुन नपाउँदा प्रदेश सरकारको प्रतिनिधित्व झनै कमजोर बनेको प्रष्ट हुन्छ ।

मन्त्री घिसिङले इलाम पुगेर विपद् प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरे । त्यसपछि उनले स्थानीय पालिका प्रमुखहरूसँग छलफल गरे । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार मन्त्री घिसिङसहितको टोलीले इलाम नगरपालिका–१० को माईटापु, इलाम नगरपालिका–९ को राजदुवाली सडकखण्ड र मेची राजमार्गअन्तर्गत पुवाखोलास्थित मिलगोलाई क्षेत्रको निरीक्षण गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भई मन्त्री घिसिङले जिल्लाका विपद् प्रभावित क्षेत्रहरूको विस्तृत जानकारी लिए । छलफलका क्रममा पालिका प्रमुखहरूले तत्कालका लागि राहत सामग्रीभन्दा पनि बाढी र पहिरोले भत्काएका सडक तथा अन्य भौतिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्न संघीय सरकारसँग जोडदार माग गरेका थिए ।

‘पालिका प्रमुखज्यूहरूले तत्कालका लागि राहत सामग्रीभन्दा पनि भत्किएका सडक र भौतिक संरचना निर्माणका लागि आग्रह गर्नुभएको छ,’ प्रजिअ नेपालले भनिन्, ‘राहत लगभग पुगिसकेको र अब पुनर्स्थापनामा ध्यान दिनुपर्ने उहाँहरुको भनाइ थियो ।’ बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमण विवादित भए पनि मन्त्री घिसिङले स्थानीय निकायका समस्याहरू ध्यानपूर्वक टिपोट गरेर लगेका छन् ।

यद्यपि, उनले कार्यक्रमस्थलमा कुनै ठोस घोषणा गरेनन् । तर, संघीय सरकारले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरेकाले प्राथमिकताका साथ काम गर्ने आश्वासन दिए ।

गत असोज १८ गतेदेखिको अविरल वर्षापछिको बाढी र पहिरोले इलाममा ठूलो जनधनको क्षति गरेको थियो । बाढी र पहिरोले विभिन्न स्थानमा घर, सडक, पुल र खेतीबारी बगाएको थियो ।

बाढीपहिरोमा परेर हालसम्म इलाममा ३९ जनाको मृत्यु भइसकेको छ । १ जना अझै बेपत्ता छन् । विस्थापित भएका २ सय ६५ परिवारमध्ये १ सय ७२ परिवार इलाम नगरपालिकाका मात्रै छन् । पहिरोले मेची राजमार्ग हालसम्म अवरुद्ध छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×