जाडोमा हिटर र गिजरः सानो लापरबाहीले ज्यानै जोखिममा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष १९, शनिबार १६:५८

काठमाडौं । जाडोयामसँगै चिसोबाट जोगिन हिटर बाल्ने, कोइला ताप्ने र गिजर प्रयोग गर्ने क्रम बढेको छ । तर, यिनै साधनको असावधानीपूर्ण प्रयोगले हरेक वर्ष मानिसको ज्यान जाने वा गम्भीर स्वास्थ्य समस्या देखिने घटनाहरू दोहोरिरहेकै छन् ।

चिकित्सक र स्वास्थ्य निकायले यस वर्ष पनि जाडोमा न्यानो हुन खोज्दा झन् ठूलो जोखिम ननिम्त्याउनलाई सचेत हुन आग्रह गरेका छन् । तराई क्षेत्रमा शीतलहरले जनजीवन प्रभावित बनाइरहेका बेला केही दिनअघि सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा ३८ दिनको शिशुको मृत्यु हुनु र परिवारका अन्य सदस्य बेहोस अवस्थामा भेटिनु यसैको ताजा उदाहरण हो ।

Advertisement

यस्ता घटनाले जाडोमा प्रयोग गरिने न्यानो बनाउने उपकरण कति जोखिमपूर्ण हुन सक्छन् भन्ने स्पष्ट संकेत गर्छन् । विशेषज्ञका अनुसार आगो, कोइला, हिटर वा ग्यास गिजर चलाउँदा अक्सिजन चाहिन्छ ।

बन्द कोठामा यस्ता उपकरण प्रयोग गर्दा अक्सिजन घट्दै जान्छ र ‘कार्बन मोनोअक्साइड’ जस्तो विषालु ग्यास जम्मा हुन थाल्छ । यो ग्यास गन्ध, रङ र स्वादरहित हुने भएकाले मानिसलाई थाहा नै नहुने अवस्थामा शरीरभित्र प्रवेश गर्छ ।

लामो समयसम्म यसको सम्पर्कमा रहँदा होस हराउने, सास फेर्न गाह्रो हुने, मुटुको चाल बिग्रनेदेखि ज्यानसमेत जाने जोखिम हुन्छ । विराटनगरस्थित कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काका अनुसार यस्तो अवस्था सिर्जना भएमा ढिला नगरी पीडितलाई बाहिरी खुला हावामा ल्याउनुपर्छ ।

‘जति छिटो उद्धार भयो, त्यति नै ज्यान जोगिने सम्भावना बढ्छ,’ उनी भन्छन्, ‘अस्पतालमा ‘हाइ–फ्लो’ अक्सिजन दिनुपर्छ । ढिला भए दीर्घकालीन असर पनि देखिन सक्छ । मानसिक क्षमता घट्ने, छिटो नसम्झिने र स्मरणशक्तिमा समस्या आउन सक्छ ।’ डा. खड्काका अनुसार समस्या बढिरहे पनि सर्वसाधारणमा अझै पर्याप्त चेतना फैलिन सकेको छैन ।

‘न्यानो हुन बन्द कोठामा कोइला बाल्ने वा हिटर चलाउने बानी सबैभन्दा खतरनाक हो । कोठा र बाथरूममा राम्रो भेन्टिलेशन हुनुपर्छ । सम्भव भएसम्म न्यानो कपडा ओढ्ने–ओछ्याउने गरेर शरीर तताउनु नै सुरक्षित उपाय हो,’ डा. खड्का भन्छन् । सुत्नुअघि हिटर, कोइला वा आगो पूर्ण रूपमा निभाएर मात्र सुत्नुपर्नेमा उनको जोड छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयामलाई लक्षित गर्दै सूचना जारी गरेको छ । मन्त्रालयले आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा हावा ओहोरदोहोर हुने ठाउँ मात्र प्रयोग गर्न, कोइलाजन्य स्रोत सकेसम्म नअपनाउन र ज्वलनशील सामग्री नजिक नराख्न आग्रह गरेको छ ।

त्यस्तै, सुत्नुअघि हिटर अनिवार्य रूपमा बन्द गर्न, गिजर बाथरूम बाहिर खुला स्थानमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बन्द बाथरूममा नबस्न पनि भनिएको छ । जाडोबाट बच्ने नाममा गरिएको सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउने चेतावनी चिकित्सकले दिएका छन् । त्यसैले न्यानो बन्ने उपाय अपनाउँदा सुरक्षित विकल्प रोज्नु र सावधानी अपनाउनु नै ज्यान जोगाउने सबैभन्दा भरपर्दो उपाय भएको डा. खड्काको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.