वर्ष दिन टिकेन कालोपत्रे : राज्यको करोडौँ लगानी, सडकमा खाल्डै खाल्डा

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ७, बिहीबार ०८:५९

खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलदेखि खानीडाँडा हुँदै आहालेसम्म जोड्ने करिब ११ किलोमिटर सडक खण्डको कालोपत्रे गत वर्ष सम्पन्न भयो ।

पूर्वी तराईसँग दिक्तेललाई जोड्ने रणनीतिक महत्वको यो सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै ठाउँ–ठाउँमा पिच भत्किएको, खाल्डाखुल्डी परेको र सतह उध्रिएको अवस्थामा पुगेको छ । स्थानीयले सार्वजनिक गरेका तस्बिर र भिडियोले सडकको वास्तविक अवस्था उजागर गरेको छ ।

सामाजिक सञ्जालमा दीपक राईले पोस्ट गरेको भिडियोले कालोपत्रे सडकको सतह उक्किएको, बेस र सब–बेस कमजोर देखिएको तथा अलकत्राको तह अत्यन्त पातलो रहेको स्पष्ट देखाउँछ । राज्यको करोडौँ लगानी भएको सडक वर्ष दिन नपुग्दै खाल्डै खाल्डामा परिणत भएको छ । कालोपत्रे वर्ष दिन पनि नटिकेपछि निर्माण र गुणस्तरमा प्रश्न उठेका छन् । अनियमितताको आरोप लागिरहेको छ ।

यो सडक राष्ट्रिय पुनः निर्माण प्राधिकरणमार्फत ठेक्का लगाइएको थियो । विसं २०७५ असोज १ गते याक्थुङहाङ–साप–सिरुवा जेभीले १० दशमलव ९७४ किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने गरी भ्याटसहित २१ करोड १ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७६ चैत ७ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, ठेक्का लिएको ६ वर्षपछि मात्र कामले गति लियो । पछिल्लो चरणमा करिब ५० करोड रुपैयाँ बराबरको लागतमा सडक निर्माण र कालोपत्रे सम्पन्न भएको दाबी गरिएको छ ।

सुरुका दुई ठेकेदार कम्पनीले पेटी ठेक्का लिएर काम अलपत्र छाडेपछि निर्माण कार्यमा ढिलाइ भएको थियो । राम्चे निर्माण सेवा कम्पनीका प्रतिनिधि कल्याण दाहाल र त्यसपछि खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिका खगेन्द्र राईलाई प्रतिनिधि तोकिए पनि काम अघि नबढेपछि अन्ततः श्रीनिक बिल्डर्स प्रालिका प्रोप्राइटर भैरव बस्नेतलाई जिम्मेवारी दिइएको थियो ।

प्राधिकरणबाट अघिल्ला दुई कम्पनीका प्रतिनिधिले १३ करोड ६९ लाख ५ सय ३८ रुपैयाँ भुक्तानी लिइसकेका थिए भने बाँकी काम ७ करोड २२ लाख ३ हजार ४ सय ३५ रुपैयाँमा श्रीनिक बिल्डर्सले पेटी ठेक्का लिएको थियो । निर्माणको क्रममा चरम लापरबाही भएको भन्दै २०७६ पुस ९ गते प्राधिकरणले लिखित रूपमा काम रोक्न निर्देशन दिएको थियो ।

स्थानीयले माटो मिसिएको बालुवा प्रयोग गरिएको, एक टिन सिमेन्टमा दश टिन बालुवा–गिट्टी घोलेर ढलान गरिएको गुनासो गरेका थिए । त्यसबेला रोकिएको काम पुनः सुरु गरी सम्पन्न गरिएको भनिए पनि अहिले देखिएको अवस्थाले गुणस्तरसम्बन्धी गम्भीर प्रश्न उठाएको छ ।

स्थानीयका अनुसार २०८२ पुस–माघमा सडकमा देखिएका खाल्डा पुर्न र भत्किएको पिच टाल्ने नाममा मर्मत गरिएको थियो । तर, मर्मतका क्रममा अत्यधिक बालुवा प्रयोग गरी सतही रूपमा टालटुल मात्र गरिएको हुँदा केही समयमै पुनः पिच उप्किने र खाल्डा पर्ने समस्या देखिएको छ ।

सडकको बेस, सब–बेस, कालोपत्रे तह र अलकत्राको गुणस्तर कमजोर रहेको तथा कतिपय स्थानमा ढलानको मोटाइ न्यून रहेको स्थानीयले बताए । यही अवस्था रहे आगामी पाँच–छ महिनाभित्र अधिकांश सडक पूरै भत्किने जोखिम देखिएको उनीहरूको भनाइ छ ।

दिक्तेल–खानीडाँडा–आहाले सडक ६.२५ मिटर चौडाइमा निर्माण गर्ने योजना थियो । जसमा ३.७५ मिटर भागमा कालोपत्रे गर्ने प्रावधान रहेको थियो । नाली, साइड ड्रेन, रिटेनिङ वाल, ग्राभेल, बेस तथा सब–बेसलगायत संरचनाका काम अघिल्ला ठेकेदारले सम्पन्न गरेको भन्दै भुक्तानी लिएको विवरण छ । तर, पछिल्लो निर्माण चरणमा तीमध्ये धेरै संरचना पुनः निर्माण गर्नु परेको निर्माण कम्पनीकै प्रतिनिधिले बताएका थिए । यसले प्रारम्भिक भुक्तानी र वास्तविक कामबीचको अन्तरबारे थप छानबिन आवश्यक देखाएको स्थानीय दीपक राई बताउँछन् ।

यो सडक विसं २०७५ मंसिर १ गते तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेका थिए । खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने यो सडक पूर्वी पहाड–तराई आवागमनका लागि महत्वपूर्ण मानिन्छ । ढिलै भए पनि कालोपत्रे भएपछि स्थानीय खुसी भएका थिए । तर, एक वर्षमै सडकको यस्तो दुर्दशा देखिएपछि जनआक्रोश चुलिएको छ ।

प्रारम्भिक चरणमै गुणस्तरहीन सामग्री प्रयोग भएको गुनासो आएर काम रोकिएको थियो भने पुनः सुरु गर्दा प्राविधिक अनुगमन कति कडाइका साथ गरियो ? भनेर स्थानीयले प्रश्न उठाएका छन् । ‘प्राधिकरणले गुणस्तर परीक्षणबिनै भुक्तानी दिएको हो कि ? करिब ५० करोड रुपैयाँ बराबरको सार्वजनिक लगानी जोखिममा परेको अवस्थामा सम्बन्धित निकायको जवाफदेहिता कसरी सुनिश्चित हुन्छ ?,’ स्थानीयको प्रश्न छ ।

कानुनी दृष्टिले पनि यो विषय गम्भीर छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २५० अनुसार सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने, कमसल निर्माण गरी राज्यलाई आर्थिक क्षति पुर्‍याउने कार्य दण्डनीय अपराध मानिन्छ । यदि ठेकेदार वा सम्बन्धित प्राविधिकले जानाजानी न्यून गुणस्तरको सामग्री प्रयोग गरी काम सम्पन्न गरेको पुष्टि भएमा सजायको प्रावधान आकर्षित हुन सक्छ ।

हाल सडकका विभिन्न खण्डमा सतह उध्रिएको, अलकत्रा छुट्टिएको, बेस देखिन थालेको र वर्षायाम सुरु हुनुअघि नै खाल्डाखुल्डी बढ्दै गएको स्थानीय बताउँछन् । उनीहरुका अनुसार भारी सवारीसाधन आवागमन हुने यो सडक वर्षा सुरु भएपछि थप क्षति हुने सम्भावना प्रबल छ । समयमै गुणस्तरीय पुनःनिर्माण वा पुनःमूल्यांकन नभए राज्यको थप करोडौं रुपैयाँ खर्चिनुपर्ने स्थिति आउन सक्ने प्राविधिकहरूको आकलन छ ।

दिक्तेल–खानीडाँडा–आहाले सडकको यो अवस्था एउटा सडकको कथा मात्रै नभएर सार्वजनिक पूर्वाधार निर्माणमा देखिएको अनुगमन कमजोरी, ठेक्का व्यवस्थापनको ढिलासुस्ती र गुणस्तर नियन्त्रण प्रणालीको विफलताको उदाहरणका रूपमा उभिएको छ । स्थानीयले सम्बन्धित निकायसँग निष्पक्ष प्राविधिक परीक्षण, खर्चको छानबिन र जिम्मेवारमाथि कानुनी कारबाहीको माग गरेका छन् । सार्वजनिक धनबाट निर्माण गरिएका संरचना दीगो र सुरक्षित हुनुपर्ने अपेक्षा विपरीत एक वर्षमै भत्किनु राज्यका लागि ठूलो घाटा भएको स्थानीयको भनाइ छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×