ठेकेदारको सवारीसाधन नगरपालिकाको नियन्त्रणमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ९, सोमबार १२:३६

खोटाङ । खोटाङको हलेसीतुवाचुङ नगरपालिकाले निर्माणाधीन आधारभूत अस्पताल भवनको काम अलपत्र पार्ने ठेकेदारको सवारीसाधन नियन्त्रणमा लिएको छ ।

नगरपालिका–७ महादेवस्थानस्थित अस्पताल भवन निर्माणमा लामो समयदेखि ढिलासुस्ती भएपछि नगरपालिका कडा रुपमा प्रस्तुत भएको हो । नगरपालिकाका अनुसार निर्माण कम्पनी नमुना–रहिमालयन जेभीका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी आइतबारदेखि नियन्त्रणमा लिइएको छ ।

Advertisement

आवश्यक निर्माण सामग्री र जनशक्ति परिचालन गरेर काम सुरु नगरेसम्म गाडी, चाबी र सवारी दर्ता प्रमाणपत्र नगरपालिकाको नियन्त्रणमै रहने जनाइएको छ । १५ शय्याको आधारभूत अस्पताल भवन २०७८ साउन ८ गते सम्झौता गरी २०८० साउन ८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

तर, सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि भवनको काम जगभन्दा माथि उठ्न सकेको छैन । पहिलो चरणकै काम अपूरो रहेको र निर्माणमा निरन्तरता नदेखिएपछि नगरपालिकाले कडा निर्णय लिनुपरेको मेयर विमला राईले बताइन् ।

मेयर राईका अनुसार पटकपटक लिखित तथा मौखिक रूपमा ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा नआएपछि चालकलाई बोलाएर गाडीको चाबी नियन्त्रणमा लिइएको हो । त्यसपछि प्रहरीलाई खबर गरी कानुनी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन् । साथै, यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई समेत लिखित जानकारी पठाइएको छ ।

नगरपालिकाले अब निर्माण कम्पनीलाई स्पष्ट समयसीमा तोकेर काम अघि बढाउन बाध्य बनाएको छ । चैत १२ गतेदेखि काम सुरु गरी ४५ दिनभित्र बेसमेन्ट कभर र स्ल्याब ढलान, त्यसपछि ६० दिनभित्र पहिलो तला र अर्को ६० दिनभित्र दोस्रो तलाको स्ल्याब ढलान सम्पन्न गर्ने प्रतिबद्धता गराइएको छ । तोकिएको समयसीमा पालना नगरे कानुनअनुसार कारबाही भोग्नुपर्ने सर्त समेत राखिएको छ ।

नगरपालिकाले सवारीसाधन नियन्त्रणमा लिएपछि ठेकेदार अस्पताल निर्माणको काम अघि बढाउन तयार भएका छन् । यसअघि ‘ब्ल्याकलिष्ट’मा राख्ने चेतावनी दिएपछि मात्रै ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका थिए । अस्पताल निर्माण संघीय सरकारको पहलमा अघि बढाइएको हो । जसअन्तर्गत २०७७ मंसिर १५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

यद्यपि, सुरुवातमै डीपीआर र जग्गा व्यवस्थापनमा कमजोरी देखिँदा निर्माण प्रक्रिया प्रभावित भएको थियो । स्थानीय सात जना दाताबाट करिब नौ रोपनी जग्गा निःशुल्क जुटाइए पनि नक्सा र वास्तविक भू–अवस्थाबीच मिलान नहुँदा विवाद उत्पन्न भएको नगरपालिकाले जनाएको छ । अहिले भने ढिलाइ अन्त्य गर्न कडाइका साथ काम अघि बढाउने तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.