मोरङमा क्षयरोगका कारण मृत्यु हुनेको संख्या बढ्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १०, मंगलबार ११:५८

विराटनगर । मोरङमा क्षयरोग संक्रमण र यसका कारण मृत्यु हुने दरमा वृद्धि भएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा १ हजार २७७ जना, २०८१–०८२ मा १ हजार ३४० जना र चालु आर्थिक वर्ष २०८२–०८३ को फागुन मसान्तसम्म ८३० जना क्षयरोगका संक्रमित फेला परेका छन् । त्यस्तै, मृत्यु हुनेको संख्या पनि बढ्दो अवस्थामा रहेको छ ।

Advertisement

क्षयरोगका कारण २०८०–०८१ मा ३० जना, २०८१–०८२ मा ४० जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको फागुनसम्ममा ३५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

स्वास्थ्य कार्यालय मोरङका क्षय कुष्ठ अधिकृत मुलुकचन्द राजवंशीका अनुसार क्षयरोग पहिचानका लागि जिल्लाका १७ वटै पालिकामा १२३ वटा डट सेन्टरमार्फत परीक्षण र उपचार भइरहेको छ । ‘२० स्थानमा खकार जाँच केन्द्र सञ्चालनमा छन्,’ उनले भने, ‘जेन एक्सपर्ट जाँच सेवा विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्था, मंगलबारे अस्पताल, नोबेल अस्पताल र कोशी प्रादेशिक प्रयोगशालामा उपलब्ध छ ।’

तर, उपचारका क्रममा सुधार देखिएपछि बिरामीले बीचमै औषधि छाड्ने प्रवृत्ति बढ्दै गएको छ । विशेष गरी भारतसँग सीमा जोडिएका मोरङका दक्षिणी क्षेत्रका गाउँहरूमा यस्तो समस्या बढी देखिएको र रोग नियन्त्रणमा चुनौती थपेको राजवंशीले बताए ।

यसैबीच, विराटनगर महानगरपालिका, पथरीशनिश्चरे नगरपालिका र केराबारी गाउँपालिकालाई ‘क्षयरोग मुक्त पालिका’ घोषणा गर्ने तयारी भइरहेको छ । सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी र रंगेलीमा क्षयरोगीको संख्या बढी रहेको तथ्यांकले देखाउँछ ।

‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ। राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ यसवर्ष मंगलबार विश्व क्षयरोग नियन्त्रण दिवस मनाइँदैछ । दिवसको अवसरमा प्रभातफेरी, निःशुल्क स्वास्थ्य परीक्षण तथा क्षयरोगीहरूलाई पोषणयुक्त खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरिने छ । राजवंशीले मोरङमा क्षयरोग नियन्त्रण तथा उन्मूलन अभियानलाई तीव्र बनाइएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.