विश्व अटिजम सचेतना दिवस मनाइँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १९, बिहीबार ०७:५०

काठमाडौं । विश्वभर आज (बिहीबार) ‘विश्व अटिजम सचेतना दिवस’ विभिन्न कार्यक्रममार्फत मनाइँदैछ । मस्तिष्क विकाससँग सम्बन्धित अटिजमबारे जनचेतना फैलाउने, यस अवस्थासँग बाँचिरहेका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्ने र समाजमा उनीहरूको समान सहभागिता प्रवर्धन गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।

अटिजम एक प्रकारको न्यूरो विकाससम्बन्धी अवस्था हो । जसले व्यक्तिको व्यवहार, सञ्चार शैली र सामाजिक अन्तरक्रियामा प्रभाव पार्छ । विशेषज्ञहरूका अनुसार अटिजम भएका व्यक्तिहरूको सोच्ने, बुझ्ने र प्रतिक्रिया दिने तरिका सामान्यभन्दा फरक हुन्छ ।

Advertisement

उनीहरू कतिपय अवस्थामा बोल्न, आफ्नो भावना व्यक्त गर्न वा अरूसँग घुलमिल हुन कठिनाइ अनुभव गर्न सक्छन् । यद्यपि, अटिजम कुनै रोग नभई एक प्रकारको फरक क्षमता (डिफरेन्ट एबिलिटी)को रूपमा बुझ्नुपर्नेमा विज्ञहरूले जोड दिँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि यस दिवसको सुरुवात गरिएको हो । त्यसयता हरेक वर्ष अप्रिल २ का दिन विश्वभर विभिन्न कार्यक्रम, अन्तरक्रिया, गोष्ठी तथा जनचेतनामूलक अभियान सञ्चालन हुँदै आएका छन् । यसले अटिजमबारे रहेका भ्रम, पूर्वाग्रह र विभेद हटाउने प्रयासलाई बल पुर्‍याउँदै आएको छ ।

यस वर्ष पनि राष्ट्रसंघले सदस्य राष्ट्रहरूलाई अटिजम भएका व्यक्तिहरूको गरिमा, क्षमता र योगदानलाई सम्मान गर्न आह्वान गरेको छ । अटिजम भएका व्यक्तिहरू समाजका अभिन्न अंग हुन् भन्ने सन्देश प्रवाह गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक जीवनमा समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

यसै अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले एक सन्देश जारी गर्दै अटिजम भएका व्यक्तिहरूका मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयनमा विश्व समुदाय गम्भीर हुनुपर्ने बताएका छन् । उनले अटिजम भएका व्यक्तिहरूलाई कुनै पनि प्रकारको भेदभाव बिना समाजका सबै क्षेत्रमा सहभागी गराउने वातावरण निर्माण गर्न सरकार, संस्था र समुदाय सबैले जिम्मेवारी लिनुपर्ने उल्लेख गरेका छन् ।

नेपालमा पनि बिहीबार विभिन्न संघसंस्था, अभिभावक समूह र सरोकारवाला निकायहरूले जनचेतनामूलक कार्यक्रम आयोजना गर्दैछन् । अटिजमबारे सही जानकारी अभावका कारण अझै पनि धेरै परिवार र व्यक्तिहरूले सामाजिक विभेद एवं गलत बुझाइको सामना गर्नुपरेको अवस्था रहेको सरोकारवालाहरू बताउँछन् ।

विशेषज्ञहरूका अनुसार समयमै पहिचान गरी आवश्यक सहयोग, शिक्षा र व्यवहारिक तालिम उपलब्ध गराउन सकेमा अटिजम भएका व्यक्तिहरूले आफ्नो क्षमता अनुसार उल्लेखनीय प्रगति गर्न सक्छन् । त्यसका लागि परिवार, विद्यालय र समुदायको सहकार्य अत्यन्त आवश्यक मानिन्छ ।

विश्व अटिजम सचेतना दिवसले अटिजम भएका व्यक्तिहरूलाई ‘अलग’ होइन, ‘विशेष’ रूपमा स्वीकार गर्दै उनीहरूको अधिकार, सम्मान र अवसरमा समान पहुँच सुनिश्चित गर्न विश्व समुदायलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.