विराटनगरमा लामो संघर्षपछि आशा र जिज्ञासाले पाए आमाको नामबाट नागरिकता

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार १२:५३

विराटनगर । विराटनगर महानगरपालिका–५ की इन्दिरा बरालका लागि बिहीबार जीवनकै सबैभन्दा राहतपूर्ण दिन बन्यो । दशकौँको दौडधूप, अपमान, आर्थिक शोषण र कानुनी संघर्षपछि उनले आफ्नै नामबाट दुई छोरीलाई नेपाली नागरिकता दिलाउन सफल भइन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार २६ वर्षीया आशा बराल र २० वर्षीया जिज्ञासा बराललाई नेपाली नागरिकता प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी युवराज कटेलले दुवै छोरीलाई नागरिकता हस्तान्तरण गरेका थिए ।

इन्दिराका श्रीमान् दीपक निरौला अनागरिक अवस्थामै २०६२ सालमा बितेका थिए । त्यसपछि ५ सन्तानको जिम्मेवारी एक्लै बोकेकी इन्दिराले मजदुरी र दुःख गरेर परिवार चलाइन् । जन्मसिद्धका आधारमा आफूले नागरिकता पाए पनि छोरीहरूलाई नागरिकता बनाउन भने उनले वर्षौँ संघर्ष गर्नुपर्‍यो ।

नेपालको कानुनले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिसकेको भए पनि व्यवहारमा उनले पटकपटक अवरोध झेल्नुपर्‍यो । नागरिकता नहुँदा शारीरिक रूपमा अपांगता रहेकी छोरी आशाले राज्यले दिने अपांगता भत्ता समेत पाउन सकेकी थिइनन् ।

नागरिकताका लागि इन्दिराका छोरा अर्जुन र छोरी आशा सर्वोच्च अदालतसम्म पुगेका थिए । २०७७ सालमा दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०८० सालमा आवश्यक प्रमाणका आधारमा नागरिकता दिन परमादेश जारी गरेको थियो । त्यसपछि अर्जुनले नागरिकता पाए पनि आशा अझै वञ्चित रहिन् ।

यही क्रममा फैसला कार्यान्वयन गराइदिने भन्दै एक कानुन व्यवसायीले परिवारबाट करिब तीन लाख रुपैयाँ असुलेको इन्दिराको आरोप छ । कान्छी छोरीले दुःख गरेर कमाएको रकमसमेत गुमेपछि इन्दिराले न्याय पाउने आशा लगभग त्यागिसकेकी थिइन् ।

त्यही बेला अधिवक्ता संयुक्ता भण्डारी उनको सहारा बनिन् । उनले निःशुल्क कानुनी सहयोग गर्दै इन्दिरालाई जिल्ला प्रशासन कार्यालयसम्म पुर्‍याइन् । फाइल अध्ययनपछि प्रमुख जिल्ला अधिकारी कटेलले तत्काल नागरिकता जारी गर्ने निर्णय गरेका हुन् ।

नागरिकता हात परेपछि इन्दिराको आँखामा खुसीका आँसु देखिन्थे । उनले भनिन्, ‘१० वर्षपछि छोरीको नागरिकता बनाउन पाएँ । अब मेरी छोरीले पनि राज्यको सुविधा पाउने भइन् ।’

अधिवक्ता भण्डारीले आफूले कानुनी हैसियतले नभई दिदीको जिम्मेवारी सम्झेर सहयोग गरेको बताइन् । प्रमुख जिल्ला अधिकारी कटेलले नागरिकता दिनका लागि कुनै अतिरिक्त परमादेश आवश्यक नभएको स्पष्ट पारे ।

केही व्यक्तिले अदालतको प्रक्रिया देखाएर सर्वसाधारणलाई झुक्याउने र रकम असुल्ने काम गरिरहेको पाइएको भन्दै उनले पीडितको उजुरीका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनले नागरिकता जस्तो संवेदनशील विषयमा बिचौलिया वा चिनेजानेका व्यक्तिको भर नपरी सिधै जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरे ।

१० वर्षको संघर्षपछि नागरिकता पाएसँगै अब आशाका लागि अपांगता भत्ता, स्वास्थ्य सेवा र अन्य सरकारी सुविधा पाउने बाटो खुलेको छ । एउटा आमाको अडानले अन्ततः दुई छोरीको पहिचान र अधिकार सुनिश्चित गरिदिएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×