
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) चार प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको हो । महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईसहित अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने अनुमान छ । चार प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपातको समेत सम्भावना छ ।
शनिबार पनि मौसममा खासै सुधार नआउने देखिएको छ । देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

























