लायन्स क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १७, बुधबार १७:३८
लायन्स क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर 

विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले आफ्नो नयाँ कार्यकाल (२०२५ / ०२६) को सुरुवात सेवामूलक कार्यबाट गरेको छ । क्लबले नयाँ यात्राको पहिलो दिन विराटनगरको हाटखोला बसपार्कमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

लायन्स क्लब इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ सी का सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर उदय बराल र एरिया चिफ डा. सुनिल रेग्मीले संयुक्त रूपमा शिविरको उद्‌घाटन गरे । आधुनिक जीवनशैलीका कारण निम्तिने स्वास्थ्य समस्याहरूको समयमै पहिचान र रोकथाम गर्ने उद्देश्यले आयोजित उक्त शिविरमा ६५ जनाभन्दा बढी स्थानीयले मधुमेह (सुगर), रक्तचाप (ब्लड प्रेसर) र लिपिड प्रोफाइलको निःशुल्क परीक्षण गराएका थिए ।

करिब ७ वर्षअघि डा. बालकृष्ण साहको नेतृत्वमा संस्थागत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले स्थापित यस क्लबले निवर्तमान अध्यक्ष बृजकुमार दास हुँदै अहिले नयाँ नेतृत्व चयन गरेको हो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष प्रमोदकुमार साहले कार्यकालको सुरुवात नै स्वास्थ्य सेवाबाट गर्नु सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता भएको बताए । उनले आगामी दिनमा क्लबले स्वास्थ्य सेवाका अतिरिक्त नियमित रक्तदान, मधुमेह नियन्त्रण, मानसिक स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण, शिक्षा र भोकमरी न्यूनीकरण जस्ता विविध क्षेत्रमा परिणाममुखी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.