
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा बलात्कारपछि नाबालिकाको हत्या गर्ने काकालाई जिल्ला अदालत मोरङले बाँचुन्जेल (आजीवन) कैद सजाय हुने फैसला सुनाएको छ ।
धनपालथान–५ का २२ वर्षीय अनिष सरदारले बलात्कारपछि भतिजी ७ वर्षीया आत्तिका सरदारको हत्या गरेका थिए । घटना लुकाउनलाई हत्या गरेर फालेको अवस्थामा गत असार १४ गते बिहान आत्तिकाको शव फेला परेको थियो । घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदा आफ्नै काकाले बलात्कार गरेर हत्या गरेको पत्ता लागेको हो ।
उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी करणी गरी क्रूर यातना दिएर ज्यान मारेको कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले अनुसन्धान सकेर बुझाएको मिसिल (अनुसन्धान प्रतिवेदन)का अभियोगपत्र तयार पार्दै सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत मोरङमा अनिषविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
अदालतका स्रेस्तेदार मणिराम पोखरेलका अनुसार अनिषले अदालतमा बयानका क्रममा कसुर स्वीकार गरेका थिए । मुद्दामा सोमबार थुनछेक बहस भएको थियो । थुनछेक बहसकै दिन न्यायाधीश बाबुराम सुवेदीको इजलासले अनिषलाई आजीवन कैद सजाय हुने फैसला सुनाएको हो ।
अदालतको फैसला अनुसार अब अनिषले जीवित रहेसम्म जेलमा बस्नुपर्ने स्रेस्तेदार पोखरेलले बताए । ‘अनिषले बयानका क्रममा सबै कसुर स्वीकार गरेका छन् । कसुर स्वीकार गरेकाले मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम कसुरदार जीवित रहेसम्म कैद हुने गरी थुनछेक बहसकै दिन मुद्दाको फैसला भएको हो,’ उनले भने ।
उनका अनुसार इजलासमा कसुर स्वीकार गरी बयान गरेको हुँदा थप प्रमाण बुझिरहन नपर्ने भएकाले कसुरदार जीवित रहेसम्म कैद सजाय हुने फैसला भएको हो । अदालतले अनिषलाई ७ लाख रूपैयाँ जरिबानाको फैसलासमेत भएको छ ।
अदालतको फैसला अनुसार जरिबानाबापतको रकम पीडित राहत कोषमा जम्मा गर्नुपर्ने हुन्छ । साथै, अदालतबाट पीडित (मृतक)का परिवारलाई क्षतिपूर्तिबापत पीडकबाट १ लाख रूपैयाँ मृतकको नजिकका नातेदारलाई भराउने फैसलासमेत भएको पोखरेलले बताए ।
‘पीडितको मृत्यु भइसकेकाले क्षतिपूर्ति दिन नपर्ने भए पनि पीडितको परिवारको अवस्थालाई विचार गर्दै परिवारलाई परेको चोटसम्मलाई मध्यनजर गरी पीडित परिवार, अर्थात् मृतकका नजिकका नातेदारलाई पीडकबाट १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ,’ उनले भने । मदिरा सेवन गरेका अनिषले आफूसँगै सुतेकी नाबालिका भतिजीलाई घर बाहिर निकालेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
हत्यापछि घटना खुल्ने डरले हत्या गरेर शव नजिकै रहेको विद्यालय छेउमा फालिदिएको अनुसन्धानबाट पत्ता लागेको थियो ।
मोरङको धनपालथानमा नाबालिकाको हत्या : काकाले बलात्कार गरेर मारे, घटना लुकाउन शव फालिदिए

























