जेनजी आवरणमा विराटनगर जलाउने घटनाका मुख्य अभियुक्त ताजिम अन्सारी कारागार चलान

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ असार १२, शुक्रबार १९:१३

विराटनगर । जेनजी आन्दोलनको आवरणमा कोशी प्रदेशको राजधानी विराटनगरमा आगजनी र तोडफोड घटनाको नेतृत्व गरेका मुख्य अभियुक्त ताजिम अन्सारी कारागार चलान भएका छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले अन्सारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न शुक्रबार आदेश दिएको हो । इजलासको आदेशसँगै उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

Advertisement

उनका अनुसार लामो समयदेखि फरार रहेका अन्सारी शुक्रबार अदालतमा हाजिर भएका थिए । हाजिर भएपछि अदालतले उनको बयान लिएको थियो । बयान लिएपछि वादी नेपाल सरकार र प्रतिवादी अन्सारीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस सकिएसँगै उनलाई अदालतले कारागार चलानको आदेश दिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले अन्सारीविरुद्ध अदालतमा दुईवटा अलगअलग आपराधिक उपद्रव मुद्दा दर्ता गरेको थियो । विराटनगरस्थित नापी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी एवं तोडफोड गरिएको घटनालाई लिएर अलगअलग मुद्दा दर्ता भएको थियो ।

सूचना अधिकारी बुढाथोकीका अनुसार नापी कार्यालयसँग सम्बन्धित मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो । सरकारी वकिल कार्यालयसँग सम्बन्धित मुद्दामा भने अदालतले अन्सारीसँग धरौटीबापत ३ लाख रूपैयाँ माग गरेको थियो ।

वकिल कार्यालयसँग जोडिएको मुद्दामा धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न अदालतबाट आदेश भए पनि अन्सारीले धरौटीबापतको रकम बुझाउन बाँकी रहेको जानकारी बुढाथोकीले दिए । ‘एउटै शीर्षक (आपराधिक उपद्रव)को दुईवटा भिन्दाभिन्दै मुद्दामा आदेश पनि अलगअलग भएको छ । एउटामा थुनामा राखेर मुद्धाको पुर्पक्ष गर्न आदेश भएपछि कारागार चलान गरिएको छ । अर्कोमा धरौटीबापत ३ लाख रूपैयाँ माग गरिएको थियो । धरौटीबापतको रकम प्राप्त भएको छैन,’ उनले भने ।

जेनजी आन्दोलनको आवरणमा २०८२ साल भदौ २४ गते आपराधिक समूहले विराटनगरमा आगजनी र तोडफोड गरेको थियो । जेनजी आन्दोलनको दोस्रो दिन विराटनगरमा भएको हिंसात्मक घटनामा तत्कालीन (नेकपा माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का केही नेता–कार्यकर्ता तथा आपराधिक पृष्ठभूमिका व्यक्तिको संलग्नता रहेको थियो ।

आपराधिक समूहले कोशी प्रदेशसभा सचिवालय, प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा निवास, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, उच्च अदालत, नापी कार्यालय, आन्तरिक राजस्व कार्यालय, विराटनगर महानगरपालिका, वडा कार्यालयहरू लगायत विभिन्न सकारी कार्यालय तथा भाटभटेनी सुपरमार्केट र व्यक्तिका घरमा आगजनी, तोडफोड र लुटपाट गरेको थियो । केही कार्यालयमा भएको आगजनी र तोडफोडको नेतृत्व अन्सारीले गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको थियो ।

आगजनी र तोडफोडमा संलग्नलाई पहिचान गरी प्रमाणका आधारमा प्रहरीले अनुसन्धान र कानुनी कारबाही अघि बढाएको थियो । त्यही क्रममा प्रहरीले विराटनगरबाट अन्सारीसहित ६ जनालाई २०८२ साल मंसिर १४ गते पक्राउ गरेको थियो । विराटनगर महानगरपालिका–१० का अन्सारीसहित विराटनगर–३ का ४१ वर्षीय महेश नेपाल, वडा ५ का २६ वर्षीय आवाज पौडेल, वडा ६ का ५५ वर्षीय बलराम कामत, वडा १० का ३२ वर्षीय राजिव यादव र वडा नम्बर ११ का २९ वर्षीय अरुण साह पक्राउ परेका थिए ।

तर, राजनीतिक दलका नेताहरुको दबाबमा उनीहरुलाई त्यतिबेला हाजिरजमानीमा छुटेका थिए । उनीहरु छुट्दा तत्कालीन माओवादीका नेता एवं पूर्वमन्त्री अमनलाल मोदीलगायतले फूलमाला र अबिरजात्रासहित भव्य स्वागत गरेका थिए । उनीहरु छुट्दा उत्सव नै मनाइएको थियो ।

मोदी मन्त्री हुँदा अन्सारी उनका स्वकीय सचिव थिए । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेका मोदीको चुनाव प्रचारमा अन्सारी सक्रिय रुपमा खटिएका थिए । उनी मोदीको मुख्य प्रचारकका रुपमा खटिएका थिए ।

तर, पछि हाजिर नभएपछि सरकारी वकिल कार्यालयले अन्सारीसहितलाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा लग्यो । अदालतले अन्सारीविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको थियो । तर, फरार सूचीमा रहेका उनी हालसम्म पक्राउ परेका थिएनन् । शुक्रबार आफैं अदालत उपस्थित भएका उनलाई अन्ततः कारागार चलानको आदेश भएको हो । अन्य अभियुक्तविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ ।

यो पनि पढ्नुस्

माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताको अगुवाइमा जल्यो विराटनगर

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.